5/4/13

तिर्थे : "नवम अध्याय''


दुबै जना उस्तै ठिस् । तर आफु ठिस् (हठी) भएको दुबैले नस्विकार्ने । शायद एक जना मात्र ठिस् भको भए जोडी जम्ने थे'न। उस्को कुरा मानिन भने ऊ सन्केर हिँड्दिने । मेरो कुरा उस्ले मानेन भने म फन्केर हिँड्दिने । त्यसैले पनि हामी अन्जान बन्थ्यौँ आफ्नो ठिसता प्रती । एक जनाले यस्तो गरम भनेपछी हल्का छलफल गर्‍यो अनी ओक्के ! गाउँमा हाम्लाई तासमा प्राय मिसाउने थेनन । हाम्रो पारा भनेको हाम्लाई टेस परुन्जेल खेल्ने, टेस पर्न छोडेसी खालमा गुन्द्रीमुनी च्याँप्या 'बुटो' टिप्नी तास च्यात्चुत पार्दिनी भड्याङ् भुडुङ् पार्दिनी हिँड्नी । बाइर निस्केर समाउथे, आफुले जितुन्जेल खेल्ने, हार्न थालेसि के ताल हो यो भन्दै ! तास भनेको रमाइलोको लागि खेल्ने हो रमाइलो लागुन्जेल खेलियो, त्यस्पछी रमाइलो लाग्न छोड्यो, अनी च्यातचुत पार्ने भड्याङ् भुडुङ् पार्ने गर्दा रमाइलो हुन्छ जस्तो लाग्यो त्यही गरियो। कसैको पैसो खाको छ भने भन !! बाँकी रह्यो तासमा हार्या पैसो ! जा घर गएर पहाडी कागज ले'र आ तमासुक गर्दिम्ला । नभए पुलिसमा गएर उजुरी गर तासमा जित्या पैसा दे'न भनेर ,भनी थर्काएसी मुर्खका अगाडि को बोल्नु र ! त्यसो गर्नु नि हाम्रो बाध्यता थियो। तिर्थे र म पैसाका गरिप थीईम । बल्ल बल्ल कुन दाउले काँ काँ बाट जुटाको पैसो नि तासमा हारिन्च अनी क्यार्नु त ! फेरी हाम्रो भाग्य नै त्यस्तै थ्यो। सुरुमा गुहे दाउ आउँथ्यो । ल्वात ल्वात जित्ने। खेल्दै गएसी भुटी भाङ्। 

पारी'का केसब र पाँड्या बसन्ते तासका विद्वान थे । हग्दा पनि तासका दाउ मात्र सम्जन्थे । तिनिहरुलाई तासमा हराउनु (तिनका पैसा खानु) मुश्किल नही, नामुम्किन थियो। तिनिहरु धनी थिए। बाउले पैसा दिन्ते जत्ती नि। बसन्त्या दुकान थ्यो किराना । चाउचाउ पका'र बेच्ने होटेल नि भन्दा हुने । हाम्रो खाल जम्ने थलो नि त्यै पाँड्या दुकान थ्यो। एक दिन तिर्थे र मैले सल्लाह गरिम, आज केस्या र बसन्त्या पैसा चड्काइदिम् तासाँ ! यत्राको चड्काइदिनु ! दुई हात मै हाम्लाई चिलिम फर्काइदिन्चन । जानी जानी हार्न त कैले खेलिया छ र आज चाँही जितिन्च भन्ने स्योर भयो त !!! तिर्थे ले निरासा ब्यक्तायो । हैन जाँठा, अाइडिया लाम, अली अली गोजा गरम गर्न पर्‍यो के ! मैले हौस्याएँ । तिर्थे र म छेउँ छेउँमा बस्ने । एउटाले चाहिने तास बोल्ने अर्कोले फाल्दिने गरी। सात पत्ती(रमीको मिनी रुप) खेल्ने निधो गरियो। बसन्ते र केसेलाई आज झ्यालि नगर्ने सहि सलामत् खेल्ने बाचा गरी फकाइयो। केटाहरु तासका गुरु न थे । नमान्नी त कुरै भएन । 
साँझ भात खाइवरी बसन्त्या दुकानाँ झरिम । अरु केटा आउलान भनेर बाहिर बत्तिको प्रकाश नजाने गरी ढोकाका चरमा पर्दा लाएर छेकिम र बसिम तास खेल्न । मेरो दाइने छेउँमा तिर्थे बस्यो। उस्लाई बास्सा चाहिएको छ भने : साढे सात को दशा लाग्यो यार ! भन्थ्यो, मैले फुत्लुक्क बास्सा फाल्दिन्थेँ । दहर चाहिए- पञ्चे बाजावाला गीत गाउँथ्यो, एक्का चाहिए - आधा राती सपनिमा ऐठन परियो भन्दै गीत गाउँथ्यो । आफुलाई चाहिएको तासको आधा नम्मर बोल्ने कोड बनाएका थियौँ । केटाहरुलाई पत्तै भएन । कतिखेर काहीँ शंका गर्लान भनेर जानिबुझी तिनिहरुलाई बाजी गर्न दिन्थ्यौँ । रात भरी खेलेर धोस्टो पारेर पैसा सोहोरियो। करिब् सात आठ सय रुप्पे जितिम होला । बडो टेस पर्‍यो। उनिहरुलाई हारेको सान्त्वनाको लागि चाउचाउ पकाएर ख्वाइम आफ्नै हातले त्यो पनि अझ बोनस स्वरुप लोकल कुखुराको अण्डा हालेर । बिहान झिस्मिसे भयो। खुशी हुँदै घर गइम। अर्को दिन सबैका अगाडि बताइदिईम: हाम्रो हिँजोको मिलिभगत कर्तुत । जुवा त हो नि ! जसरी जिते नि भयो ! को बोल्ने !! अर्को पटक देखी तिनिहरुको खालमा नमिसाउने त हो नि हाम्लाई ! हाम्लाई कौन से जुवाडे हुनु छ र !!
हिउँदाँ बनमा आगो लाउनिमा नि तिर्थे र म च्याम्पेन थिईम। ग्वाल: जाँदा सधैं एक दुई तिल्ली सलाइको काँटी र अलिकती खोर्सो (बारुद पोतेको भाग) च्यातेर गोजाँ हाल्थिम। बनमा स-साना कान्ला जस्ता भित्तामा सुकेको घुर्रो(खर प्रजातिको घाँस) हुन्थ्यो। सलाई कोर्यो छिस्स आगो लाइद्यो। लास्टै टेस पर्त्यो। ह्वार-ह्वार बल्ने थेन । पिलिली गरेर सल्किँदै पुरै सखाप पर्त्यो । पछी जम्मै कान्ला कालै देख्दा लास्टै रस्ट पर्त्यो। कैले काहीँ ठुलाहरुले नि साथ दिन्थे । उनिहरुको साथले हौसिँदै ठुलै पाखामा(भिर) नै आगो ठोक्दिन्थिम। भिरमा गाई बस्तु र मान्छे जान नसक्ने हुनाले घुर्रो धेरै हुन्थ्यो, अन्य झाडी पनि टन्नै हुन्थ्यो । फेरी ठाडो भिर हुनाले फेँदमा ला'को आगो टुप्पोमा पुग्न ट्याम लाग्ने थे'न । एकै छिनमा हुर्र्‍रै भैहाल्थ्यो । कैले काहीँ सम्हाल्न सकिने थे'न । अनी सल्लका झाँप्रा काटेर आगो ठटाउन को सास्ती हुन्थ्यो। चप्पल र कपडा जलेर झुम्रा हुन्थे । हामी अझ बहादुर कहलाउँथ्यौ । गुइँठा बालेर ढक्क आगो भरीईसकेपछी ढुङ्गामा राखेर काँचो लौराले ठटाउन(गुइँठा पड्काउन) उधुमै सार पर्त्यो । कपडा त पुरा दुलाई दुला हुन्थे, गुइँठाको फिलिङ्गाले । सल्लाका भेँडी(फल) पोलेर सिम्ठा(बियाँ) र भोर्ला(मालुको)को टाटा (फल) पोलेर खान जत्तिको मजा त के पो हुँदो हो र !
हाम्लाई के कुरामा टेस पर्थ्यो भन्ने हाम्लाई नै थाहा हुन्थेन । बडो बहुरङ्गी थिइम। कैले काहीँ रुखको एउटा पात हेरेर तीन घण्टा हाँस्थिम । हैन ! यो पात साँच्चै किन यस्तो हुनु पर्या होला !! लामो लामो रे ! चेप्टो चेप्टो रे ! धर्सा पर्या रे ! यस्का बाजे ! डोलो लोहोरो जस्तो बनोट भको भए पनि त हुन्थ्यो नि !! अनेक तर्क निस्किन्थे हाँस्नलाई ।
एक दिन ग्वाल गको बेलाँ पाँड्या चौतारामा बरको हाँगामा झ्याम्पुताली खेल्दै थिम । यस्सो माथि बाटो तिर हेर्चम त यत्रोबोडो बडेमानको सेपे सर्प !! तेत्रो सर्प मैले जिन्दगीमा देखेको थिईन । अजिङ्गर भन्नि मान्छे निल्नी सर्प हुन्च रे, श्वासले स्वाँट्ठै मान्छे निल्छ रे भन्ने मात्र सुन्या थेँ । तेस्तै भयो, त्यो सर्पले नि खुट्टा तिरबाट निल्न थाल्यो भने साप्रा सम्म त थुक नलाई निल्छ होला जस्तो लाग्यो। उल्टै हामी तिर आउँदै गर्‍यो । मेरो होश हवास उड्यो। म बरको रुखको टुप्पा तिर लागेँ । तिर्थे झरेर घुमेर सर्प भए भन्दा माथितिर गएर सर्पलाई जिस्काउन थाल्यो। यस्सो सानो ढुङ्गाले छिस्स हानेको के थ्यो सर्प त आधा जिउ तनक्क तन्काएर ठाडो भएर यत्रोबोडो फणा बनायो। एक जना बच्चा ओत लाग्न सक्ने जत्रो फणा ! मैले जिन्दगीमा तेत्रो सर्प नि पहिलो पटक देखेँ। फणा नि नागका चित्रमा मात्र देखेको थिएँ । अहिले त प्रत्यक्ष नै देखेँ । म डरले आत्तेर चिच्याउन थालेँ । तिर्थे बहादुर पल्टिँदै माथिबाट ठुलो ठुलो ढुङ्गाले हान्न थाल्यो । एक पटक ड्याङ्गै ढाडमा लाग्यो ठुलै ढुङ्गाले । सर्पले 'चँहँ ' आबाज गर्दै कुकुरले भित्तामा मुत्या जस्तो गरी मुख बाट धारा फाल्यो। म चडेको बरको फेँद भिज्ने गरी । बिष फाल्यो सर्पले भन्दै तिर्थे कराउन थाल्यो । अर्को ढुङ्गाले हानेसी सर्प थला परेजस्तो लाग्यो अनी म बरको रुखबाट हामफालेँ । म नि माथि पट्टी गएँ । अनी थिलो थिलो हुने गरी दुबै मिलेर ढुङ्गाले सर्पलाई बजायौँ । अन्तिममा मलाई एउटा बुद्दी आयो: तेस्ता फणा भएका नागराजको त मणी हुन्छ रे खरबौँ मा बिक्च रे अमुल्य मणी !! तिर्थेको नि तेस्रो नेत्र बल्यो झल्झली ! धुलो पिठो पारेर सर्प मारिम । अनी झिँजाले कोट्ट्याउँदै ढुङ्गाले थिँच्दै तेस्को टाउको पुरै खोतलिम । फणा भेटिएन । कानु (बिज नभएको फल) पो र'च जाँठो नागबाबा त ! अली अली पछुतो नि लाग्यो नागदेवताको हत्या गरेकोमा । ज्यादा चाँही फुर्ती । दुइटा घारामा उनेर खर्कको चौराँ लगिम गाउँलेलाई देखाउन हाम्रो बीरता को गाथा । देख्ने हरुले जिब्रो टोक्दै सबैले हामीलाई गाली गरे ! कस्सो टोकेर मारेन्च जाँठाहरुलाई !! यस्तो बिठ्यैँ नि गर्नी हो !! टोक्या भए के हुन्त्यो मुर्खहरु भन्दै ! हाम्ले छाती फुलाइरहिम । काँ टोक्च हामी जस्तो चौखन्ड चतुर बीर हरुलाई भन्दै । हुन नि हामी बीर त बीरै हम के ! कसैले नपत्याइदेर पो त !! 

3 comments:


  1. गजब ​नं ९ बाँकी भागको व्यग्रताका साथ प्रतीक्षा हूंदैछ

    ReplyDelete
  2. Lau hamle patyaidim :D

    ReplyDelete
  3. टेस परो! टेस परो! त्यो सल्लाको सिम्ठाभित्रको गेडा त हाम्ले नि खाइन्थ्यो सानोमा, मीठै लाग्थ्यो। बाँकी अध्याय (;) )हरू पनि चाँडै आउलान् र टेस पार्न पाइएला भन्ने आश छ। तपैकै शब्दमा 'धन्नेबात्!'

    ReplyDelete