12/29/12

तिर्थे : “अष्टम अध्याय”



सिउनीखोला (हाम्रो खर्यान/डालामुङ्ग्रा अम्रिसा आदि भएको जमिन थ्यो, खोल्साको रिपा:"घाम कम लाग्ने" पाखो पट्टी) बाट दाउरा ले'र आउँदै थिम| पँधेरा बंगैचा आइपुग्दा यस्सो माथिपट्टी हेरेको, नरेसार्कीको बारीका डीलमा बेल्ती(अम्बा) पहेँलपुर्!! ओई जाँठा तिर्थे! बेल्ती हेर तो!!! तिर्थेले एस्सो आँखा गाड्यो बाटाको माथिपट्टी बारीको ढिकमा| बेल्ती पाकेर पँहेलपुर् !!  म पछी पछी थें| तिर्थे अँघी | तिर्थेले केहि नबोली ल्वात्त दाउराको डोको बिसायो बाटाको कुनामा| मैले कुरो बुझिहालें| मैले नि बिसाएँ| दुवै जना अजम्मरी र सिउँडीको बार नाघ्दै छिरिम बारीमा| पाक्या बेल्ती क्वाप का क्वाप दार्न थालीम| कति पो खानु र! गोजामा भर्दै थिम| मकै बारीबाट लात्रिंदै आएका काँक्राका झालमा तर्ल्याङ् र तुर्लुंङ् काँक्रा! लोभीको भाँडो उभिन्डो भन्या झैँ, हाम्लाई काँक्राको नि लोभ लाग्यो| हतारमा तिर्थेले बेल्तिको एउटो हाँगो कर्याक्क गर्दै भाँच्यो| दुइटा सुर्का माथि नरे सार्कीको घर थ्यो| घरमै रैचन सबै जाहान| नरे कराउन थालिहाल्यो| ~~!! को हो त्यो बारीमा बेल्ती चोर्नी!!! हाम्रो पालो अजम्मरिको बार नाघ्दै बेल्ती सेल्ती त्यतै हुर्र्याएर भागीम| हतारमा उल्टो भागिएछ सिउनिखोला तिरै 


अलि पर रोका' घरको आड लाएर लुकेर बसिम एकछिन| तर आपद! दाउराको भारि त उसकै बारीको मुनि छ | जसरि नि फन्दामा परिहालियो | तर भगबानले समस्या सँगै समाधान नि पठाएका हुन्चन के!! उताबाट गोसाइं कमलेकि आमा घाँसको भारि ले'र आउँदै थिईन| हाम्लाई सार्है मायाँ गर्थिन| मुन्तिर बाटोमा झरेर उनलाई सबै कुरो नढाँटि सुनायौं| कमलेकी आमाले आइडिया निकाल्नुभयो | आफ्नो डोको बाट हँसिया झिकेर हाम्लाई दिएर, यदि उसले भेट्यो भने हामीलाई थाहा छैन| हामीले हँसिया बिर्सेर डोको अँघीनै बिसाएर सिउनिखोला हँसिया लिन गएका थिईम भन्नु! अनि मैले नि भन्ने छु कि हो यिनीहरु म सँगै आएका हुन्| यिनीहरुले चोरेका हैनन्
हुन पनि त्यस्तै भयो| हाम्रो डोकोको छेउमा कुरेर बसिराखेको रैछ| हाम्लाई देख्नासाथ खाउँला झैँ गरि गर्जिन थाल्यो| जाबो चार दाना बेल्ती मागेको भए दिई हाल्थें नि!! हाँगा भाँची भाँची चोर्नु पर्छ!!! म गरिप लाइ हेप्नी!!! हाम्ले केहि थाहा नपाए झैँ गरिम| के भयो र नरे दाई? किन यसरि च्याँट्ठीन्चौ हो!!! हाम्लाई थाहा नभएको सबिस्तार बताए पछी उ चुपचाप लागेर घर उक्लियो| हामि नि खुशी हुँदै कमलेकि आमालाई धन्याबाद दिंदै घरतिर लागिम
बेलुकी तिर्थेको र मेरो घनघोर सल्लाह भयो| छलफल भयो| त्यसले हाम्लाई त्यत्रो दोष लगाउनि!! तेस्का बेल्ती अब छोड्नु हुन्न!! म धेरै जसो साँझको खाना खाएर तिर्थेकोमा जाने गर्थेँ| उसको कोठा बाहिरै बाट जान सकिन्थ्यो| माटे भर्यांग उक्लेर सिधै उसको कोठामा जाँदा कसैलाई थाहा हुने थिएन| तर हाम्रो घरमा त्यो ब्यबस्था थिएन| त्यसैले मैले उपध्र्या साथी कोठामा ल्याउन खासै पाउँथिन| बेलुकी तिर्थ्या झोला बाट किताप खान्याइम | झोला बेरेर गोजामा कोचिम | अनि हिँडियो नरे सार्किका बेल्ती चोर्न| करिब २० मिनेटको बाटो हुँदो हो| बर्खाको समय| तिर्थ्या बारी हुँदै ड्वा(गहिरो बाटो/डगर) हुँदै हिलोमा कच्याल कच्याल गर्दै पुगियो नरे सार्किका बेल्ती भएको ठाममा | घर भन्दा तीन चार सुर्का तल अन्तिम सुर्काको बेल्ती बाट सुरु गरियो| झोला र पेट भरियो| यस्सो उँभो हेरेको त अरु पनि टन्नै बोट रहेछन | आजलाइ त भैहाल्यो | फेरी अर्को चोटी लाइ बाँकी राखेर फर्किइयो तिर्थ्या कोठामाखाट मुनि बेल्तिको थान्को लाइयो| अनि सुतियो|

अर्को दिन खाटमुनिका बेल्ती सक्केपछी फेरी जाउँ जाउँ भयो| हिंडीम् फेरी अर्को रात| अर्को पटक चाहिँ मैले टर्च लाइटको ब्यबस्था गरेँ| अर्को दिन आँगनको छेउँमा भएको ठुलो बेल्ती को बोटनेर पुग्यौं| भित्र सुतिसकेका थिएनन| खुट्टामा चिल्लो लगाएर मालिस गर्दै गफ चुट्दै बसिरहेका थिए| झ्यालको चर् बाट देखियो| बेल्तीको फेंदमा कोहि नचढोस भनेर टन्न लाएर बयरका काँडा बाँधेर बेरिएको थियो| एक एक गर्दै फुकाइम| अनि चढीम् बेल्तिको रुखमा| अँध्यारो रात थियो| कुन दाना पाकेका कुन काँचा छुट्टयाउन सकिन्थेन| मुखमा टर्च लाइट च्याँपेर बेल्तिको दानामा देखाउँदा जुन टल्किन्छ त्यो टिप्दै झोलामा कोचार्न थालीम| झोला भरेर रुखबाट झर्दै थिईम| घर्याक्क कुइँयँ गर्दै ढोका खोलेको आबाज आयो| हतार हतार झरेर आँगनको डिलबाट तलतिर घुस्रिम| आँगन देखि आँगन मुनिको बारी करिब पाँच मिटर तल थियो| र कान्ला भरि सिस्नो थियो| हामि त्यहिँ सिस्नोको घारीबाट तल घुस्रिम| धन्न छिप्पिसकेका सिस्नोका डाँठ समात्दै झर्दा पोलेन| भर्खर मकै फाँडेका मकैका तिखा बुटी (ठुटि) थे | ति पनि छलियो |पाँच मिनेट थुचुक्क बसेपछी पछी उठेर लागियो घर तिर एक एक झोला बेल्ती बोकेर | काम् धाम केहि थेन | बस्यो, चोर्या बेल्ती चपायो | दुइ तीन दिनमा खलास भए बेल्ती | फेरी अर्को पटक जानु पर्ने भयो | घरको एभरेडी लाइटमा चोर्नाकै लागि एक जोडा बेटारी एक्स्ट्रा जोडियो | फेरी लागियो अर्को साँझ मिसन बेल्ती |
लोभ बढ्दै गयो | जति घरको नजिक पुग्यो उति मिठा र ठुला दाना भएका बेल्ती | यसो आँगनको छेउँमा हेरेको त अनार पनि रैछ | तर पाकेको थिएन, त्यसैले मन गएन | सुन्तलाको बोट भएको थाहा थ्यो | कता पट्टी भन्ने थाहा थिएन | खोज्दै जाँदा भेटियो | लास्टै अक्कड ठाउँमा रैछ | भैँसी गोठ र मलखातोको बिचमा | सुन्तला लटरम्मै !!!! हाम्रो त खुसीले झन्डै होस् उडेन | झोलामा पहिल्लेई टिपेका बेल्ती भरिएका थिए | अब सुन्तला केमा राख्नु !! मलखातोको गोबर खोस्र्यों दाउराले | अनि त्यैं पुर्यौं बेल्ती | झोला खालि भयो, अब पालो सुन्तलाको | बोटमा चढ्यौँ | बेल्ती जत्रो ठुलो बोट नि थिएन र बलियो पनि | तिर्थे माथिल्लो हाँगामा टेकेर अलि माथि माथिका टिप्दै झोलामा हाल्दै थ्यो, मैले तल तलका | गु खानिलाइ खली हाम्ले सुन्तला भेटेको !!! काँचो पाक्या मतलब भएन | हाम्लाई सुन्तला इज द सुन्तला | रमाउदै टिप्दै थ्यौं | तिर्थेले भन्यो : बरुण !! 'मेरा आँखा त नन्दा भए' !!! सुन्तलाका गेडा खुट्याउन सकिन !!! मलाइ खै के भयो, के सुने ~!! हाँसोको फोहरा छुट्यो | जोड परेछ क्यारे मैले समातेको हाँगोमा बढी बल परेछ कर्याक्कै भाँचियो | म मल्खातामा गोबरमा लाछारिएँ | मैले समातेको र तिर्थेले टेकेको हाँगो यौटै पो रैछ | तिर्थे नि संगसंगै मलखातामा | जिउ भरि गोबरै गोबर भयो | पोखिएका सुन्तला खोजि खोजि गोबरमा गाडीम, बाँकी बोकेर पँधेरातिर लागिम मध्यरातमा | पँधेरा (कुवा)मा गएर गोबर पखालेर घर गयौँ | अब सुन्तलाको लत बस्यो | दुइ दिन पछी फेरी गयौँ | एक झोला ल्यायौं | कैले गोठको छानो भरि घुसार्थ्यों कैले कता लुकाउँथ्यौं | सुन्तला लुकाएर राख्न अत्ति मुस्किल भयो | जता राखे नि मगमग बासना आउने | एक दिन लाइट ल्याउन पाइएन | तर चोर्न नगई नहुने !! हामि सँग उपाएको के कमि थ्यो र!! टेकनारायण अंकललाइ हाम्रो योजना सुनाइम | ऊनी ग्याजेट (उसबेलाका हाम्रा ग्याजेट :टर्चलाइट, सानोखाले रेडियो, घडी आदि हुने गर्थे)का सौखिन थिए| हाम्रा सिनियर साथी (नाताले अंकल) तर डर छेरुवा| पहिले त डरले मानेनन, तर तिनी लाइटको लागि मात्र सहभागी हुने र दुइ सय मिटर परै लुकेर हाम्लाई पर्खिने शर्तमा मन्जुर भए | तिनलाई सम्साँझै तिर्थेको कोठामा बोलाइम | जानु पर्ने सबै सुतिसकेपछी थ्यो | तर हामि तिर्थ्या कोठामा आठ नबज्दै जम्मा भइम | टेक नारायण अंकल हाम्रा सिनियर र गणितमा राम्रो दक्खल राख्थे | त्यसैले ऊनी सँग साँझमा सँगै बस्नको लागि घरमा गणित सिक्न उनीसँग रहेको सुनाएपछि हुन्थ्यो | तिर्थेको कोठामा पहिले त एक दुइ थान हिसाब गरे जस्तो गरियो | तर करिब दश बजाउनु थ्यो | लाल्टिनको उज्यालोमा मस्त तास खेल्न थालीम कल्ब्रेक तिनजना | हुकुम रङ् जति हाम्ले पारेर टेकनारान अंकललाइ जिस्काउन थाल्यौं : रंग जति लगेर चाँप्यौ भन्दै | ऊनी बिचरा सोझा थिए | कहिल्ले उनको मुखबाट फोहोर शब्द सुनेका थिएनम हाम्ले | तर हाम्ले जिस्काउँदा झोंक चलेछ क्यारे ! तिम्रिमा *** भनेर प्वाक्क बोले | हाम्लाई अनौठो लाग्यो हाँसोको फोहरा छुट्न थाल्यो | तर त्यो सब हर्कत अर्को कोठाको खोपा (घर बनाउदा खट बाँध्नको लागि बनाइने प्वाल)बाट तिर्थेकि आमाले हेरिरहनु भएको रहेछ | तिम्रिमा ****, ****,***** गालिका बर्षा शुरु भए | मैले कुनै स्त्रीजाति बाट पहिलो चोटी सुनेको थिएँ त्यस्ता गालि | यो अनिकालको मट्टीतेलको सत्यानास गरेर पढ्ने बहानामा तास खेल्नी तिम्लाई डिंङ्ना हरु !!!! भन्दै लखेट्न थाल्नु भयो | धन्न हामि पूर्व तयारीमा थियौँ | झोला कम्मरमा बाँधिएको थियो, टेकनारायणको लाइट उनकै गोजामा | हामि फाल हाल्यौं | तोरी छर्नलाइ सम्म्याईएका बारीबारी फाल हाल्दै पँधेरा पुग्यौं | त्यतै एकान्तमा गफ गर्दै रातको दश बजायौं, अनि लाग्यौँ मिसन सुन्तला |
त्यसपछी पनि धेरै पटक नरे सार्किका सुन्तलामाथि आक्रमण भैरहे | कैले गोसाइँ कमलका केरा चोर्न जाँदा (कमल सहित ) त कैले द्वारे साहिँलाका पुजा हुँदा | सुन्तला को अध्याए सक्की सक्यो तर हाम्लाई नशा लागिसकेको थ्यो | हात चीलाईरहन्थे | कतिपय शब्द हरु तिर्थे र म बाहेक कसैले बुझ्ने थिएन | कोड वर्ड धेरै थिए | हिउँद लाग्यो अब उखु देखि लिएर बन्दा र काउली समेत बाँकी रहेनन | के टेस पर्थ्यो कुन्नि खै !! घरबाट साँझको भात खाएर निस्केको मान्छे राति कैले हाम्रा साहिँलाबाका काउली सोत्तर पारेर काँचै कोपर्ने, कैले पाँड्या हेड सरका | काउली चोर्दा जरै देखि उखेल्थिम | ताकी चोरिएको पत्ता नलागोस | सबै भन्दा टेस त भक्कु (भोगटे) टिपेर भिरालोमा पल्टाईदिँदा पर्थ्यो |
 त्यस्तैमा एक दिन ठुटेआँपारुखेको बारीको कान्लामा साँझमा केरा आधा पाकेको देखेँ | तिर्थे र म राति झोला लिएर आइम | आउँछम् भन्दा त केरा त काटेर लगीसकेछन | हिस्सै परेर फर्किंदै थिईम, एक्कासि बाघ सँग जम्का भेट भयो | सातोपुत्लो उड्यो | दुवै जना दुइ तिर भागीम, भाग्दै घरमा आउँदा हाम्ले लागेको झोला छैन | अब पर्यो अर्को आपद !! त्यो नखोजी सुख छैन | भोलि कसैले कसैका बारी तिर भेटे भने बर्बात हुन्छ, सबै पोल खुल्छ | रातभर लाएर खोजिम, भेटेपछी बल्ल चैनको सास फेरेर घरमा आएर सुतिम |
कैले काउली चोर्दा चोर्दै रातिमा गहुँबारीमा भाग्दा (काउलीमालिक पिसाब गर्न बाहिर निस्किँदा) सितले भिजेको सर्स्युंको फुल जिउ भरि लपक्कै टाँसिएर जिउ पुरै पहेंलपुर् हुन्थ्यो | तर अचम्म कसैले चुइँक्क सम्म थाहा पाएनन् | यदि रङ्गे हात नपक्रिएको खण्डमा आरोप लगाउने कुनै डर थिएन | हामि गाउँमा सोझा मध्यका पर्थिम |
पछी त आत्म ग्लानि हुँदै गयो | कसैले यत्तिकै जिस्केर जोर सँग हकारेजस्तो गरि बोलायो भने लौ बर्बात भयो, यसले त हाम्रो कर्तुत थाहा पाएछ क्यारे जस्तो लाग्थ्यो |


18 comments:

  1. बिध्यानास कम्पनि गुरु रक्स के !!! भाषागत शुद्धता खोज्नेले नपढे पनि हुन्छ, तर चलनचल्तीको भाषा र बोलीचालीको भाषामा लगाव राख्ने म जस्तालाई तिर्थे हाँस्ने एउटा बहाना मात्र नभएर उनीहरुले गरेका चर्तिकलाहरु सम्झिंदै घुटुक्क थुक निल्नु पनि हो, त्यसमाथि जीवनमै नसुनेका शब्दहरुको संयोजन त छंदैछ

    घरेलु कम्पनि रक्स के लास्टाँ एकपटक :)

    ReplyDelete
  2. दाइ यस्तो राम्रो स्टोरी किन यति छोटो ? गज्जपले टेस परो मलाई त, खित्का छोडेर हाँस्न पर्नी बनायौ नि !

    ReplyDelete
  3. अत्यन्तै चतुर रैच दिमाख, हाम्ले मान्यम त्यो टिरिक लगाउन सक्ने बुद्धी र अहिले यहाँ सकुशल उतार्न सक्ने क्षेमता राख्न सक्ने क्रिएटिभ दिमाख लाई :)))) कीप इट अप...खोक्रो दर्शन छाँटेर भन्दा बास्तबिकता लेखेर मन छुन सक्ने लाई विद्वान भन्छु म :))

    ReplyDelete
  4. ठिकै छ रमाइलो छैन त म भन्दिन तर बिसय बस्तु संगै पर्कृति लाइ पनि ध्यान दिनु पर्छ. जस्तै, बेलौती कुन मौसम मा हुन्छ र मकै कुन मौसम मा हुन्छ? अनि काँक्रो?

    ReplyDelete
    Replies
    1. सबै एकैचोटी हुन्छ!

      Delete
    2. सबै एकैचोटी हुन्छ!

      Delete
    3. सबै एकैचोटी हुन्छ!

      Delete
  5. रवी आचार्य ज्यु, बेलौति भदौ देखी पाक्न थाल्छ्, मकै त्यस समयमा पाक्ने बेला हुन्छ र काँक्रो मकै बारीमा हुन्छ । अली ढिला फल्न थाल्छ। मकै पाक्दा सम्म बारीका काँक्रा पहेँलिसकेका हुन्नन । र जानकारी गराउँ : हाम्रो लग्भग १००० मिटर उचाइको क्षत्रफल मा यस्तो हुन्च । :))

    ReplyDelete
    Replies
    1. मलाई पनि माथी रवी जि ले भने जस्तै कता कता प्रकृति संग नमिलेको जस्तो लाग्यो... हाम्रा तिर बेलाम्ती भदौ तिर पाक्च तर सुन्ताला त भदौमा खान हुने खालका हुदैनन्... आमिला सुन्तालानै चोरेको भए सुन्तालाको स्वाद पनि राख्देको भए कथामा अझ टेस पर्थ्यो.. :)

      Delete
    2. बेलौति भदौ देखी कात्तिक सम्म हुन्छ । दसैं तिहारमा गाउँमा बेलौति लदाबरी हुन्च। सुन्तला दसैंको मेलामै जती खाउ बेच्न राख्छन। तिहार तिर त जती नि फालाफाल हुन्छ सुन्तला। अली होचो ठाउँमा अझ चाँडै पाक्छ लेकमा भन्दा । दसैंँ तिहार नै बेलौति र सुन्तलाको मौसम हो हाम्रो तिर ।अनी बेलौति देखी सुन्तला सम्मको यात्रा एक दुई दिनको हैन । त्यो बर्ष को बर्षातको अन्त्य देखी हिउँद सम्मको लगातार खेल हो। :)

      Delete
  6. सुरज जी : म साहित्य लेख्ने कैन आत्मकथा लेखेको हुनाले हाम्रो तिर बोलिने र बोल्दा प्रयोग गर्या भाषा लेख्या हुँ के !! :D,
    धीरज : धेरै लामो हुन्थ्यो सबै कथा लेख्या भए त !! अल्छि लागेर सम्झनाको लागि यत्ती मात्रा लेखेको हो । धन्न तिर्थे गाउँमा छ, ब्लग पढ्न पाउन्न र हो , नत्र मार्च मलाई बिजेत गरेकोमा :)
    ज्योति: आफ्नै उस्बेलाका हर्कत हुन, सम्झनाले छोड्दैनन केरे जाँ गए पनि :)

    ReplyDelete
  7. This comment has been removed by the author.

    ReplyDelete
  8. जसले जे भनोस, बरुण पोखरेलको भाषा र शैलीको ठूलो फ्यान हुँ म । पढ्दै जाँदा कतै गोबरमा लतपतिएको त कतै बाघसँगको जम्काभेटले आफूलाई पनि सँगसँगै डोहोर्‍यायो । लेखन जारी राख्न जोडदार माग गरिन्छ । :)

    ReplyDelete
  9. उहिले पोस्टियेछ्न आज पढ्न पाइयो :) हरेक अध्याय जस्तै यो पनि गज्जप!!

    ReplyDelete
  10. दरो रेछ कम्पनि... अनि माथि रवि आचार्यको कमेन्ट देखेर म त ट्वाँ के ;) अनि को रैछन् यी मेरा हम नाम भनेर हेर्नै गएँ गुगल+ मा.. :)

    ReplyDelete
  11. कम्पनि का ब्लग पढ्न मजै बेग्लै :)

    ReplyDelete

  12. गजब ​नं ८

    ReplyDelete