7/16/12

तिर्थे "चतुर्थ अध्याय"

पारि पारि मादल बज्या स्वर सुन्दा मनै च्यु च्यु हुन्त्यो| (हाम्रा तिर औंशी देखि भैलो खेल्नी चलन छैन| तिहारको टिका लगाएपछि भैलो शुरु गरेर चतुर्थी को दिन राति सम्म खेल्ने चलन छ| ) औंशी देखि बल्ल रोटि पकाउने तयारि हुन्त्यो| तर हाम्रा घरमा सधै अल्छी पारा हुन्थ्यो| जाबो रोटि जैले खाए नि त हुन्च नि! के त्यारै आउन पर्च र! भन्थे| तर सबैका घरमा त्यारमा रोटि पका'को बासना ड्वा(गहिरो परेको बाटो) सम्म आउँथ्यो| घाँटी किक्लिक्क हुन्थ्यो मुख रसाउँथ्यो| हाम्रा घराँ नि अलि चाँडैबाट सुरु गरेनी हुन्त्यो जस्तो लाग्थ्यो| त्याराँ खा'को जस्तो अरुबेला खा'को काँ'ट हुनु! यसपाली अझ ढिलो हुने भएको थ्यो| आमा मावल जाने रे| हाम्रा मामा थिएनन| आमाले टिका लगाइदिने कोइ थिएन| त्यसैले आमालाई त्याराँ माइत जाने रन्को हुन्थेन| यसपाली नि औंशी को दिनमा गएर अर्को दिन नै फर्किने गरि बा/आमा भेट्न  मावल जानुभयो| फर्केर आएपछी रोटि पकाउने गरि|

फिनि रोटि बनाउनलाइ मैदा चाहिन्थ्यो| किन्न बजार सदरमुकाम नै पुग्नु पर्थ्यो| अनि मैदा, चिनी आदि... लिन खलंगा जानी कुरो भयो औंशीको दिन| अनि आलुको बिउ पनि ल्याउन पर्नी भयो| तिर्थ्या पनि त्यसैदिन खलंगा जानी कुरो रैच| सँगै खलंगा जानी घुम्नी दिनभर मस्ती हुनी भयो | लास्टै टेस पर्नी भयो|
त्यसदिन यौटा अनौठो संयोग पर्या थ्यो| खग्रास सुर्य ग्रहण| दुबैको घरबाट आदेश थ्यो: रेडियो का अनुसार नाङ्गो आँखाले सुर्य नहेर्नु| आँखा धिपिक्कै होलान! हुन्च हुन्च भनेर घरका'को कुरो शिरोपर गर्दै लागियो खलङ्गा तिर रुफसाइड झोला बोकेर| बाटोमा ग्रहण पर्ला भनेर अलि छिट्टै पठा'का थे घरबाट| बन्चरे पुग्दा घाम हल्का माथि आउन लागेको थ्यो| सुस्त सुस्त ग्रहणले सुर्जेलाइ छोप्दै थ्यो|मान्छे हरु स्टिलको थालमा बेसार राखेर घाममा टल्काएर प्रतिबिम्ब हेर्दै थे| हामि नि पिच्च पिच्च खैनी थुक्दै यस्सो छिस्रिक्क हेर्थिम| त्यो जाबो थालमा घाम के देखियोस र ! अनि खिस्रिक्क पर्थिम| बाटोमा ति घाममा थाल टल्काउनेले नि बाबुहरु हो! नाङ्गो आँखाले नहेर्नु होई! आँखा चिलिम हुन्च रे!!! भनेर तर्साउँथे| हस! भन्थिम | धरमपानी छेंडामा पुगुन्जेल थालमा अलि अलि हेरेजस्तो गर्दै थिईम| सुस्त सुस्त अँध्यारो हुँदै पो गयो| ग्रहणले छोप्यो भन्थे| हाम्लाई नि रमाइलै लाग्या थ्यो| जिन्दगीमा पहिलोचोटी खग्रास ग्रहण अनुभब गर्दै थिईम|जब धुवाखोलो तरियो त्यसपछी त घर नि छैनन् बाटोमा अलिबेर| झन्डै झन्डै अँध्यारो पो भयो| ब्यान ब्यान चर्को घाम लाग्ने टाइममा अँध्यारो हुन लाग्यो| अँध्यारो पनि साँझको जस्तो हैन कि दिउसोमा कालो बादलले ढाकेको बेला कतै बादलको चर् बाट छिस्स घाम छिर्या जस्तो कस्तो कस्तो बिना-स्वादको अँध्यारो हुन लाग्यो| हेर तिर्थे! तँ जाँठाले नहेर्नी भए नहेर! आफुले त यस्तो मौका गुमाइन्न ! हेरिन्छ डाइरेक्टै! बरु मेरो आँखा धुम्म हुन लाग्यो वा केहि भैहाल्यो भने मेरो बिचार गरेस है! तिर्थे नि के कम र!मैले त्यति भनि नसक्दै उसले नि ठाडो मुन्टो लाउन थाल्यो| अलिकति थोरै छिस्स घामको घेरो देखिएको थियो बाँकी धुम्मै!
बडो टेसले हेरियो सुर्जे ग्रहण| तर डर भने लागिरहेको थ्यो| भाउँ आँखा धिपिक्कै भैहाल्नी हुन् कि! खलङ्गा नपुग्दै दुवैजना अन्धा भैयो भने! डरै डरमा खलङ्गा पुगियो|
खलङ्गा के टेकिएको थियो! पुर्ब तिरबाट भटटटटटटटट गर्दै हेलिकप्टर नज्जिकै बाट आयो| हाम्ले तेती नजिकबाट हेलिकप्टर देखेका थेनम्| मुन्टो कर्के पारि पारि हेरिम | हेलिकप्टर नजिकै हुँदै बिजुवारको फाँट तिर हुइँकियो! फेरी फनक्क एक चक्कर लगाएर खलङ्गा तिरै सोझियो| खलङ्गाको पुछारमा ब्यारेक थ्यो| हेलिकप्टर त्यहिँ बस्ने लक्षन देखियो| करिब एक किलोमिटर टाढा हुँदो हो हामि भएको ठाउँ बाट ब्यारेक| लौ हेलिकप्टर ब्यारेकमै बस्ने भो! भाग तिर्थे!!! हामि यसरि दौडीयौं कि!! हामि ब्यारेकको अँगाडी पुग्दा हेलिकप्टरका पंखा बाँसा'' फिरफिरे झैँ फलललललल घुमिरहेका थिए| तेत्रोबोडो हेलिकप्टर छेउँ बाटै (करिब ७० मिटर) देखियो| आँट्टा!! गति परियो यार!!! साइत पारेरै हिंडीया रैच घरबाट! तिर्थेले त आँखा झिमिक्क नपारी हेरेको हेरेइ गर्यो| मैले नि खुब चाख मानेर हेरेँ| टाढैबाट भए नि झ्याल ढोका, पंखा, भ्याए सम्म किलाकाँटा सबै हेरेँ| खै के खै के जस्तो भयो| खुसीले आँखा फिरफिर गरिरहेका थिए| शरीर चुमुक चुमुक गरिरहेको थियो| एकछिन पछी फेरी मान्छे चढे| पहिले सुस्त सुस्त गर्दै कुँउँउँउँ ~~~ गर्दै पंखा हललललल घुम्न थाले| हाम्ले आँखा झिमिक्क नपारी हेरिरइम | एकछिन पछी पंखा जोडजोडले घुम्न थाले| हेलिकप्टरले लुरुक्क भुँई छोड्यो| जुरुक्क उचालियो| माथि पुगेपछि फनक्क फन्केर बिजुवारको फाँटतिर लाग्यो| यौटो ठुलै अनुभब भयो|
हातमा बाँधेको गोठीबाँगको सन्ना सँग पचास रुप्पेमा किनेको स्टिलको चेनवाला झिप्झिपे घडी थियो| यसो हेरेको भर्खर सबा दश बजेको रैच| खै के बुद्दी आयो तेसबेला! ओई तिर्थे! हिंड मु* बिजुवार फिलिम हेर्न जाम! जिल्लामा एउटो मात्र फिलिम हल(टाकिज) थियो| तिर्थे अकमकायो| मैले त्यो भन्दा पहिला पनि फिलिम हेरेको थिएँ| लोभिपापी भन्ने फिलिम त्यै बिजुवार्को हलमा हेरेको थिएँ| त्यो भन्दा धेरै पहिले घोराहीको राप्ति चलचित्र हलमा हिन्दी फिलिम पनि हेरेको ठुलै अनुभब थियो म सँग| हुन त त्यो के फिलिम थ्यो कस्तो थ्यो न उसबेला बुझेको थिएँ, न त पछी नै कुनै सम्झना भयो | तिर्थेले फिलिम त के टिभी पनि हेरेको थिएन त्यो भन्दा अगाडी| गाउँमा अरु लाउरे केटाहरुले लाउरमा फिलिम हेरेको | यस्तो हुन्च उस्तो हुन्च! संजय दत भन्नी हिरोले एक किक हान्यो भने हाम्रा गाउँको जाकामरु पनि ऐया भन्न नपाइ 'रामनाम सत्य हो' हुन्च भन्दै धाक लगाएको मात्र थाहा थ्यो तिर्थेलाई| सुरुमा त अलि डरायो | हँ? जानी र? भन्न थाल्यो| पछी मैले जाउँ जाँ*! हेर! बल्ल सबा दस् भको छ | सुस्त सुस्त गए नि साढे एघारमा पुगिन्छ | फिलिम बाह्र बजे बाट बल्ल सुरु हुन्च| मौका आउँछ पर्खिदैन| आजै जाम हिंड! भने'सी तिर्थे मन्जुर भयो| अब झरियो खलङ्गाको डांडोबाट बिजुवारको फाँट|
गोरेटो बाटो बाट लुखुरलुखुर हिंड्दै थिईम| एक जना अधबैसे मान्छे भेटियो बाटोमा| चिटिक्क ज्यान भको मोटोमोटो शहरिया टाइपको थ्यो| झोला नि खास्साको बोकेको| केटा हो! काँ जान्चौ?भनेर ठाडो स्वरमा सोध्यो| हामि नि के कम र! बिज्वार! भनिम| त्यो पनि सँगै ओरालो लाग्यो| उसले आफु पुलिसको इन्स्पेक्टर भएको बतायो| हामि त "मसाल"! पुलिसको पुरापुर बिरोधि| गाउँमा रुख पात चरो मुसो सबै मसाल थिए| त्यसैले हामि नि त्यै चरोमुसो नाताको मसाल| हाम्लाई त्यत्ति थाहा थ्यो कि पुलिस भनेका सामन्तका भरौटे हुन्| हाम्रा बर्ग शत्रु हुन्| भलै भरौटे, वर्गसत्रु ...यस्ता शब्दको अर्थ थाहा नहोस| त्यसैले हाम्रो सोंचाईमा पुलिस राम्रा मान्छे थिएनन्| म र तिर्थे पछी पछी गुनगुन गर्न थालीम| ओई ! यो जांठो त पुलिस रैच! यस्ता सँग नि के हिंड्नु! हाम्रा कुरा सुन्यो कि सुनेन खै... तर उसले हामीलाई एकोहोरो के के सोधिरह्यो| तर मान्छे रमाइलै थ्यो| केहि गरौँ भने हामि जाबा फिस्टेले के लछार्नु! त्यसैले भो यसलाई पहिले जान दिम अनि हामि जाम्ला भन्ने निर्णय गरिम र तिर्थे कान्लामुनितिर हग्न जान्छु भनेर  झर्यो| त्यो मान्छे ले एक्लै जाने सुर गरेन| पर्ख्यो मोरोले! जसरि नि सँगै जानै पर्नी भयो| बिज्वार किन जान्छौ? हाम्रो एकमुस्ट जबाफ "फिलिम हेर्न "! धत्! यत्रा फुच्चेले नि फिलिम हेर्चन!!! उसले थर्कौंथ्यो| हाम्ले टेरे पो त्यो जाबालाई! मुखमुखै लाग्थिम| तिमोरु त मसाल हौ कि क्या हो? "अँ"!!! जोरजोर ले भन्थिम| तिमि हरुलाई 'इन्स्पेक्टर' सँग सँगै हिंड्दा गर्ब लाग्या छैन? हाम्रो जबाफ "यत्रा''आ गर्ब! जाबा पुलिस सँग! त्यै नि हो कि हैन के थाहा! बर्दीमा भए पो!" हामि बास्तबमा अलि चटार्र्या टाइपका थिईम स्वाद नलाग्ने मान्छेका लागि| उसले घरीघरी फोहोर फोहोर बोल्थ्यो| सरम कुरा त लगभग बोलि पिच्छे| त्यसैले पुलिस चाहिँ होला तर पोस्ट त हाम्लाई धाक लगाको होला भन्नी अनुमान गरिम| कतिखेर कहिँ एक्कैछिन मेरो झोला बोक्द्याओ न ! भन्थ्यो| हाम्ले सिधै "यत्रोलाएच र!" भन्थिम| आज गाडी बिग्रेकोले बिजुवारबाट मात्र गाडी पाइने भएर हिंड्दै आएको भन्थ्यो| ईस जाँ*! फुर्ती लाउँचस् हाम्रा अगाडी!(मनमनै सोंच्थिम)| यत्तिकैमा बिजुवार पुगियो| साँच्चिकै ठुलो मान्छे र'च| त्यहाँ भ'का पुलिस जातिले उठेरै सलुट हाने तेस्लाई| अनि गाडी रेडी रैच| आइजाओ केटा हो! चडओ! हल सम्म पुर्याइदिन्चु! भन्यो| खुस्शि भएर चडीम्| हलसम्म(करिब ४०० मिटर) पुर्याईद्यो|
टिकेट काटिम, एकछिन पछी हलमा छिरेर फिलिम हेर्न थालीम| दुइ थोपा आँशु | हेर्दै गर्दा तिर्थेलाई भनभनि रिंगटा लाग्न थाल्यो| पर्दामा त हेर्नै नहुनी! तेस्लाई फिलिम फापेन| मेरो करले आधा उधि त बस्यो| त्यसपछी मानेन| फिलिम भन्नी के क्के न सोंचेर ग'को थ्यो बिचरो! आधा पछी बाहिर निस्किम| समोसा खाइम| एकछिन घुमिम| शितलमा बसिम| तिर्थेले टाउको पानीले भिजायो| एकछिन पछी टाउको दुख्न अलि कम भयो| फिलिम पनि सकियो मान्छे हरु बाहिर निस्किन थाले| हामि फेरी खलङ्गा तिर उकालो चढीम्| खलङ्गा आउँदा छ बज्यो साँझको| त्यहाँका लोकल दोकाने नेवारहरु यौटो ग्लोब जस्तो मा गोट्टी हालेर घुमाउदै नम्मर लेख्दै खै के खेलिरहेका थे| घरि जोर जोरले "बिंङ्गो!" भन्दै उफ्रिन्थे| घरि कुखुरा चोर भन्थे| गहरी नम्मर गन्दै बाइस सत्ताइस के के भन्थे| के खेल रैच केइ मेसो त पाइएन| तर हेर्न स्वाद पर्यो| आधा घण्टा जति त्यै हेरियो होला| अब कता मैदा किन्नु कता चिनी च्यापत्ति किनमेल गर्नु! अबेर भयो बर्बात भयो| जेनतेन सबै गरियो| आलुको बिउ पनि मोटामोटी उठाइयो आठ-दश किलो जति| झमक्कै साँझ पर्यो| तिहारको औंशीको दिन| न जुनेली रात न टर्च लाइट! बाटो छाम्दै छाम्दै बुढीदेवी  पुगियो| सुनसान थ्यो| सबै गाउँमा गएका थे| अल्ली तल साल्खोला आउँदा माझा'रे रोमाकान्तको होटलमा उल्यालो देखियो| यस्सो छिर्या त को को मिलेर कुखुरो काटेर पकाएर रक्सि खाँदै र'छन्| केटा हो!! यसबेला काँ बाट आयौ? हाम्रो जबाफ रुझ्या मुसो जस्तो "खलङ्गा बाट" | किन ढिला नि? "हाम्रो तर्फबाट केहि जबाफ आएन" | बिङ्गो हेरेर भुल्यौ हो? "बास!!! अब के चाहियो र! ढिला हुनुको कारण पत्ता लाग्यो"| दुवैजनाले एकै स्वरमा "अँ" ! बल्ल बुजिम खलङ्गा देख्या त्यो ग्लोब जस्तो खेल "बिङ्गो" र'च | अब घरकालाइ नि टोपी लाइदिन सजिलो भयो| फिलिम हेर्न बिज्वार पुग्या थाहा पाए भने त घरकाले जम्मरजिते बनेर हाम्रो सर्बनाश गरिहाल्चन| त्यै बिङ्गो भनेर टार्ने सुर गरियो| रोमाकान्तले एउटो फाल्या चप्पल लौरामा उनेर दिए| त्यै बाल्दै घर| घर आइपुग्दा सबै सुतेका र'चन्| आजलाई त बचियो| तर ढोका खोल्छु त खुल्दैन| भएन! बार्दलीबाट गएर सुत्नु परो भनेर गारोमा टेकेर बार्दलीमा उक्लिन्चु भन्दा त बाउले सिख्रेट तान्दै बसिर'का बार्दलीमा! सातो पुत्लो खुलुत! किन यता बाट आम्चस! ढोका खोल्दिन्चु तलैबाट आइजा ! किन ढिला गरिस त!? "बिङ्गो भन्नी पहिलो पटक देखेको, सारै रमाइलो हुनी रैच| नेवारहरु खेलिरहेका थिए| त्यै हेर्दै बसिम| साँझ परेको नि पत्तै भएन्च:(|" बाँकी केइ सोधेनन्| भात खा'र सुत! भन्ने आदेश आयो बाउबाट| शिरोपर गरियो सुतियो| कहिल्ले पनि थाहा पाएनन हाम्ले फिलिम हेरेको त :) |

4 comments:

  1. बाल्यकाल का जीवन्त तस्बिर पढ्न पाउँदा खुशी लाग्यो कम्पनी ,आजकल तिर्थे कता के गर्दै छन ? कौतुहलता जागिरहेको छ आशा छ अरु भाग हरुमा हाम्रो कौतुहलता मेटिनेछ !

    ReplyDelete
  2. :D :D यिनारुको जोडीको कहानी त ५ लाख भाग सम्म आए नि यत्तिकै उत्सुकताका साथ पढिन्छ ल | अर्को कैले आम्च हँ ?? :D

    ReplyDelete
  3. बुद्दीसागर र तीर्थेको घर एकैतीर जस्तो छ..दुबैको लेखमा उही सरलता,मिठास अनि कंचनता छ!!आफ्नो बाल्यकाल पनि उस्तै भयको हुदा सस्मरणले बढ़ी छुन्छ

    ReplyDelete

  4. गजब ​नं ४

    ReplyDelete