7/19/12

तिर्थे :"पन्चम अध्याय"

गोजाँ खैनी खानि पैसो त हुन्थेन, बाँकी फुर्मासका के कुरा भयो र| तर नि मनका र दिमाखका गरिप थिएनम |तेसैले पैसा नभएनि जुक्ति ले काम् गर्थ्यो| एक दिन पकौडा खानि मन लाएर हुरुक्कै भयो| ग्वाल: गएको बेलामा तिर्थेले भन्यो~ साला भट्टराइका पकौडा पाउनी हो भने त पचासोटा दन्काइ दिन्थें! (भट्टराईको होटेल थ्यो, पकौडा, च्या, छोले, चिउरा,रक्सि बेच्थे)| मलाइ नि पकौडाको कुरो सुनेर घिटीक्क भयो| मुखभरी थुक आयो| भित्ताको माटो नै कोपरुँ जस्तो भयो| पकौडा खानि मन त लायो| लागे पछी लाग्यो लाग्यो! तर कसरि पो खानु! पैसाको पो गरिप थिईम हामि | आइडियाका त खुंखार! घनघोर छलफल चल्यो बगलेओडारका ढुँगामाथि| अनि निस्कर्ष पनि निस्क्यो| अब पकौडा खानि भैयो|

तिर्थ्या जेठाबाउका परिवारै वाल्टर (भिसाखापटनम) बस्थे| उनको चिटिक्क परेको नयाँ घर खालि थ्यो, तिर्थेकै घरसँग जोडिएको| त्यो घरमा तिर्थेकि आँबै मात्र बस्थिन| भात खाएर ऊनी तालामा सुत्न जान्थिन| आँबै सार्है मजाकी थिईन| हाम्लाई सार्है मायाँ गर्ने| आफूबाट हुन सक्ने सहयोग जे पनि गर्दिने | आँबैको घरमा पकौडी पकाएर खाने निधो भयो| अब तेल किन्नु पर्यो! बेसन चाहियो मुख्य कुरो आलु नि चाहियो! साँझ घर आएपछी मैले हल्का पाराले एक गिलास घिउ चोरें | तिर्थे ले नि त्यसै गर्यो| अनि आँबैको घरमा गइम | आँबैलाइ पकौडी खाने सल्लाह भएको र चाहिने सामान सबै किनेर रेडी पारेको बताइम| आँबैको एउटो सर्त रह्यो| म माथि तालामा सुत्न जान्छु| तर ८-१० ओटा पकौडा मलाइ नि ल्याइदिनु! पकाउने भाँडाकुँडा चुलो सबै आँबैको| अब समस्या रह्यो बेसन र आलुको| पालेबना'' किस्ने सँग बेसन बच्या थाहा थ्यो| म गएर बेसन दे त! अन्वारमा डन्डिफोर आउन लाग्यो, बेसन दल्यो भने ठिक हुन्च रे! भन्दै झन्डै आधा किलो बेसन नि फुस्काइहालेँ| अब चिन्ता रह्यो आलु को! जाबो आलुको के चिन्ता! १० बज्यो रातिको| गाउँमा सबै सुते| सुनसान भयो| तिर्थेले झोलामा भएका किताब खन्यायो | अनि खालि झोला बोकेर हिंडीम् आलुको खोजीमा| थापा'आ नम्या (नमे) गोठ पछाडीको बारीमा लगा'का थे| पछाडी को बाटो गएर अजम्बरी र सिउँडीको बार पन्छाउँदै बारीमा निस्किम| सबै भन्दा डर कुकुरको थ्यो| तेस्को घरमा खैरो कुकुर पाल्या थे| थाहा पाएर भुक्ला भन्ने डर थ्यो| त्यसैले भाग्ने इन्तिजाम र नक्सा पहिल्ले नै बनाएर बारी पसेका थिईम| बारीमा टुसुक्क बसेर आलु खोतल्न थालीम| बोटको छेउ बाट खोस्रेर आलुका गेडा झिक्दै झोलामा हाल्दै गरिम| बोट पुरै उखेल्यो भने चोरेको थाहा पाउलान, कसले चोर्यो भनेर भोलि हल्लाखल्ला गर्लान भनेर सारो(दुम्सी)ले खाएको जस्तो गराउनलाइ त्यो जुक्ति लगाइयो| दुइ चार दाना कोपरेर त्यहिँ फालियो| ताकी सारोले नै खाएको जस्तो होस्! त्यस्तै दुइ तीन किलो जति भएपछी बाटो लागिम| अब पकाउन मात्र बाँकी!
सबै जोरजाम गरिम| आगो बालीम, आलु उसिनिम| आलु छोडाएर मसला सँग मुछेर बेसनको पिठोमा चोप्दै पकौडा बनाउदै | तर घिउ कम भयो| पकौडा कराहीमा डुबेनन् | आँबैको चौंठीबाट तेल चोरीम| अब भकाभक पकौडा पकाए भो| सुरु भयो| पकौडा हालियो कराहीमा| तर फर्काउने र झिक्ने चिम्टाको जोहो गर्न बिर्सिएछ| केहि उपाए सुझेन| पकौडा डढ्न लागिसक्यो| हत्तपत्त औंला बेसनमा ल्वाप्प चोपें| औंलाभरि बेसन लायो| अनि सिधै हात कराहीमा| पकौडा पाक्दा हात्मा टाँसिएको बेसन नि सँगै पाक्थ्यो| प्रत्यक पटक त्यसै गर्दै पकौडा बनाएर सकियो| करिब ४०-५० ओटा जति बनाइएहोला| जति बनायो सबै तात्तातै खान थालियो| लास्टमा बेसन टन्नै बच्यो| तर आलु खतम| फेरी आलु चोर्न नि कति जानु त्यो शीतले निथ्रुक्क भको बारीमा| हाम्रो पेट अझै भरिएको छैन| आँबैलाई दिने के हो? जम्माजम्मी ८-१० ओटा मात्र बँचे| त्यो त झन ओछ्यानमा बसेर गफिंदै मज्जाले खानु पर्च! आँबैलाई दिनको लागि बँचेन | यसो छेउँमा हेरेको त सुकेका मकैका खोयाको थुप्रो पो र'च! ल भाइ! मलाइ त आइडिया आयो! बेसन नि सिध्याउनु छ तेल पनि| तिर्थे! पकौडा जत्ति नि बन्ने भए | तँ चिन्ता नले! तिर्थेले नि मान्यो मेरो आइडिया| अनि ति मकैको सुकेको(आगो बाल्न राखेको)खोया अचानोमा राखेर पकौडाको साइजमा काट्दै बेसनमा चोप्दै पकाउन थालियो| करिब करिब ३०-३५ ओटा पकौडा खोयाको बनाइयो| मतलब फर्जी पकौडा | सग्ला खाले पकौडा कागजमा पोको पारेर तिर्थ्या कोठामा राखेर बाँकी फर्जी पकौडा आँबैलाइ लगेर दिईयो| आँबैलाई पकौडा दिने बेलामा मर्नि गरि हाँसो त लाइर'थ्यो| तर जसरि तसरी हाँसो खटाइयो|
तिर्थ्या कोठामा अर्को दुइटा खाट जोडिएका थिए| तिर्थ्या भाइ सुर्जे पनि त्यहिँ सुत्थ्यो| हाम्ले कोठामा बसेर सुस्त सुस्त खुसुर खुसुर (निदाइरहेको सुर्जे ले थाहा नपाओस भनेर) गफ गर्दै थियौं| अब पकौडा नि खानु पर्यो भनेर यसो छेउँमा हेर्चम त पकौडा त छैनन्! सुर्जेले थाहा पाएच | हामि अर्को साइडमा गफ गरिरहेका थियौं| निद्राबाट बिउँझेछ, तेलमा पकाका रोटि मङ्ग बसाएच| यस्सो छेउमा हेरेको कागजको कुटुरो! सुस्त हात तानेर खुस्स सिरक भित्र लगेछ | पकौडा कता गयो भनेर रन्फनिदै खोज्छम् त सिरक भित्र खुस्खुसखुस्खुस हाँस्दै पाकुस पाकुस पारिर'को ! हामि त खिस्रिक्कै पर्यौँ| अझ अर्को फसाद हाम्रो पकौडाको योजना म तिर्थे र आँबै भन्दा कसैलाई थाहा थिएन| सुर्जेले नि थाहा पायो|मलाइ फ्याट्ट आइडिया आयो| खा खा! तँलाई भनेर ल्याइदेको हो यो| तँ सुतेको भएर ओछ्यानको छेउँमा राख्देका थिईम|
भोलि पल्ट आँबैले के गर्या हौ त्यस्तो? म बुडी मान्छेलाई न दाँत छन्! झन नातिहरुले पकौडा ल्याइदे भनेर राति राति उठेर तात्तातो पकौडा खान्छु भन्दा त त्यस्तो! पहिला एक दुइटा त केहि बिग्रेहोला भन्ठाने| पछी त जुन टोक्छु मकैको खोया भन्दा अरु छैन! थुक्क मनिमोरा हरु हो! म बुढीमान्छेलाइ झुक्कायौ! भनिन हाँस्दै| तर हाम्लाई सार्है पछुतो लाग्यो| कम्तिमा २-३ ओटा जति भा'पनि सग्ला पकौडा दिएको भए चाखेर सुत्थिन आँबै| त्यो कुरो सधै मनमा खड्कीरह्यो| अहिले नि याद आउँदा नरमाइलो लाग्छ आँबैको चित्त दुखाएकोमा :(

2 comments:

  1. कत्ति लोभ लाउँछ हौ, यिनको साथी तिर्थे बन्न पा'भे | जिन्दगीमा यिनले जति रमाइलो गर्ने भुरभ्रुरी अरु को होलान र ? :D

    ReplyDelete
  2. आलु चोर्न जादा खेरी को कुरो ले मलाई नि अरु कै भैंसी गोठ बाट दुध चोरेर खिर बनएर खाको याद आयो बरै

    ReplyDelete