6/28/12

"तिर्थे" द्वितीय अध्याय


संगत सानै देखि अलि सिनियरहरु सँग थियो| यौटा भ्रम पनि थियो र महत्वाकांक्षा पनि| ठुलाहरुले आफु सँगै मिसाउँदा होस या अलि आफ्नै लेबलले बोलाउँदा आफु नि हलक्कै बढ्या जस्तो अनुभब हुन्त्यो| त्यसबेला अरु बाँकी आफु समानकालाइ नि भाउ दिईन्थेन| आफु ठुलो मान्छे जो भइएको छ! सायद ति सिनियरहरु पनि त्यसरी नै हुर्केका थिए| तिनका तालमा ताल मिलाउनलाइ खैनी खान पनि सिकियो| सायद म भन्दा अझ पैला तिर्थेले सिक्यो| अनि मलाइ अझ सजिलो भयो सिक्न| यती साना थिईम कि त्यसबेला ... यित्ति माखा'' पित्त जति खैनी अँघिल्लो पट्टिको तल्लो लहरको दाँतको अँगाडीपट्टी छिस्स कोचार्दा नि ओंठ सुस्केरा हाल्न ला'को जस्तो गरि खिस्स अँगाडी चोंसो निस्किन्थ्यो| उमेरै सानो, ज्यानै सानो, ओँठै सानो अनि तेत्ती जाबो खैनी नि लुक्थेन| खैनिका काला छोक्रा छिस्स देखिन्थे| तर पिरित्त पिरित्त थुक्न चाहिँ सारै स्वाद पर्थ्यो| अरुले खैनी खाएर पिरित्त पर पुग्नीगरि भित्तामा थुक्या देख्दा खुबै रहर लाग्थ्यो| लाग्थ्यो कि तिनीहरु त्यसरी थुकेर नै ठुलामान्छे (सिनियर) भ'का होलान
गाउँमा "बिजली" खैनी को बिगबिगी थ्यो| तर "बिजुली"भन्थे| हुन पनि बिजुली नै हुन्थ्यो| लास्टै कडो| सुरुवातमा एक दुइ छेकटा बाट सुरु हुन्त्यो| दरौंलेमा कम्पिटिसन हुन्त्यो| एउटा सिकारुले दुइ छेकटा च्याँप्यो भने आफुले चार छेकटा| हिरो हुनु जो थ्यो तिनीहरु को बिचमा | पयन्टको खल्तीमा राख्यो कि टलक्क घेरो परेर बस्ने| बाहिरै बाट थाहा हुने| सिक्नु भन्दा पहिले नै किनियो डब्बा| किनकि ठुलामान्छे सँग बराबरी हुनु जो छ| कति पटक त कम्पिटिसनका तालमा वाकियो ओभर डोज भएर| तर सुस्त सुस्त गर्दा गर्दै अम्मली पो भैयो| नखाए त तुल्बुल तुल्बुल लाग्ने गाँठे! फेरी कडा पनि कम्ता हो र! ति कलिला ओंठका त धज्जी उडाउँथ्यो| एक फ्वांक अगाडी राख्यो| त्यो ठाउँको छालाको एक पत्र चुनले काटेर घाउ बन्यो| फेरी यस्सो छेउँ मा सार्यो ... यसै गर्दै दुइ तीन दिनमा तल्लो ओंठ बाट चाहार लगाउँदै उपल्लो ओंठ हुँदै पुरानै ठाउँ सम्म आइपुग्दा पुरानो डोब पुरिईसकेको हुन्थ्यो| घरमा पिरो तिउन पकाउँदा पो सास्ती हुन्त्यो| मुखमा भातको गाँस हाल्यो कि पिरो तिउन ले खैनिले पार्या डोबमा च्वास्स छुन्त्यो | तलबाट छुलुक्क पिसाब चुहिन्त्यो| रिसले पारो उम्लिन्त्यो| तर क्यार्नु! कसैलाई सुनाउन नमिल्ने पिडा| साला! आँगनका डिलमा भ'का खुर्सानीका बोट सबै निमट्यान्न पार्दीम झैँ हुन्त्यो|
अम्मली त भैयो| तर अब रेगुलर किन्न पर्नी भो! काँ बाट ल्याउनु त्यत्रो पैसो! दुइ रुप्पे एक मोहोर पर्थ्यो| त्यति भनेको हाम्रो हुतिको पैसो थिएन| त्यसैले तिर्थेको र मेरो सहकार्य भयो खैनिमा | एक डब्बा किनेपछि बाँड्ने| कसैले बिजलिको डब्बा उघार्यो कि पचास मिटर टाढैबाट गन्धले थाहा पाइन्थ्यो| अनि दगुर्यो कस्तुरीले बिना खोज्या जस्तो! बिस मिटर टाढै बाट हात पसार्दै गएपछि एक फ्वांक त कसले नदिनी नि हौ! तर मागेरै नि कति चल्छ र! तिर्थे र म गरिप थिईम| हाम्लाई घरमा फिटिक्कै मास्नी पैसा दिन्थेनन| पैसा चोर्न कहिल्लेई हिम्मत भएन| कतिपटक त फालिएका चुरोटका ठुटाको सुर्ती झारेर नि ओंठमा घुसारियो| तर कोक्काएर उधुम! तर अजिंगरको आहारा दैबले पुर्याउँच भने झैँ हाम्रो समस्याको नि समाधान भयो| तिर्थेकी आँबै ले वाल्टर (भिसाखापटनम) बाट ल्याको गुलियो सुर्ती किलो का किलो पो फेला पर्यो| दाउ परिहाल्यो| झन्डै २ बर्ष त त्यै चोरेर काम् चलाइयो|
तर खैनी खा'को हाम्रो सर्कल भन्दा अरुले थाहा पाउन हुन्थेन| घरमा कुरो पुग्ने त कुरै भएन| सधै घर पुग्ने बेलामा अलि वरै बारीमा माटोले पुरेर चिनोकोलागि झिंजो गाडेर घरमा गइन्थ्यो| बरु हाम्रा हजुरबाले जङ्गल जाँदा जनै कानमा अड्काउन भुल्थे होलान! हाम्ले खैनी लुकाउन कैल्ले भुल्थेनम| जिन्दगीको जो सवाल छ! 
हिउँदमा ग्वाल गएर चट्ट सान सँग ओंठमा खैनी च्याँपेर घाम ताप्दै अगाडी लुतुर लुतुर हिंडी रहेका कमिलालाई ताकी ताकी पिच्च पिच्च थुक्दीन नि खुबै सार पर्त्यो|
ग्वाल सँगै जानी साथीहरु प्राय: खैनी खान्थे| आफु सँग नभए नि एक न एक जना सँग पक्कै हुन्त्यो| हाम्रो थेगो नै बन्या थ्यो त्यसबेला " अम्मल भन्ने चिज चाहिँ मागेरै खाको राम्रो रे"

7 comments:

  1. Mr. writer ji, thanx 4 yr post. It reminded me of the childhood days of mine almost two decades back. R U still continuing the habit?? Thank god, I cud leave it!

    ReplyDelete
  2. गजब मन पर्‌यो

    ReplyDelete
  3. गज्जब धीत फुकाएर लेखेचन । साह्रै टस पर्यो ।

    ReplyDelete

  4. गजब ​नं २ ​

    ReplyDelete