6/23/13

तिर्थे 'साङ्गेता'


हुन त तिर्थे बलिउडमा हुन्थ्यो भने 'सलमान खान' हुन्थ्यो होला । अरुको मात्र हैन आफ्नै नि सुन्दैन उसले । पहिले पहिलेका त कुरा छोडौं अझै नि उस्तै छ ब्योरा । उसलाई यो कुरो 'हैन' जस्तो लाग्यो भने प्रमाण अँगाडी राख्दे नि पत्याउन्न । तर पनि मिल्नेहरु सँग भने असाध्यै मिल्थ्यो । यति हुँदा हुँदै नि मान्छे बडो लजालु टाइपको थ्यो । बेला बेला खिसिक्क लजाउँथ्यो ।
अनेक नौटंकी आउँथ्यो बेला बेला । पाधको अनुभब गर्नु उसको रोजको काम थ्यो । उसलाई अनुसन्धान गर्नु थ्यो कि पाँच मिटर टाढा सम्म त यस्तो गनाउँछ भने नजिकै कस्तो हुँदो होला ! हमेसा पाध्ने बेलामा जाएँको पछाडी हात लागेर ट्याप्प मुठी पारेर नाक अँगाडी ल्याएर छोड्थ्यो । त्यो बेला उसको थुतुनो र एक्सप्रेसन हेर्न लाएक हुन्थ्यो ।
घरमा उसलाई रिस उठेको दिन अलि उपद्रो नै हुन्थ्यो । बाउ सँग डराउँथ्यो, अरु कसैको जोड चल्ने थिएन । उसलाई रिस उठेको बेलामा सबै भन्दा पहिला खाना खानु पर्थ्यो । चुलामा कोइ नभको मौका छोपेर फटाफट खाइसकेपछी बाँकी रहेको तरकारीमा आधामाना नुन हाल्दिन्थ्यो । भात/आटो मा पानी हाल्दिन्थ्यो र फरार हुन्थ्यो काममा । बिहानको समय छ भने गोरु फुकाएर बन टाप । दिउसो भए नाम्लो हँसिया टिपेर घाँस काट्न टाप । ऊ नभएको बेलामा जति गालि गरेनी फर्केर आउँदा काम देखाउँथ्यो । अनि घरका'को गालि गर्ने मुड सेलाएर आउँथ्यो । दिउसोमा भोक लाग्दा घरमा केहि भेटेन भने तालामा गएर घिउ कोपर्थ्यो । घिउको भाँडो आधी बनाइदिन्थ्यो । तर घरमा लाइदेको काम चाहिँ ठग्ने थेन कहिल्ले पनि । दुख भनेको तेस्को चित्त बुझाउन मात्र गाह्रो ।

दांग-लमहीको बजारमा कुनै दिन तिर्थे, म अनि टेक नारान अङ्कल
कुनै समय दांग देउखुरीमा पनि संगै रहने मौका जुर्यो तिर्थे सँग । बेलुकाको समय नजिकै खन्ते कुमालको ढेब्रीमा भिक्सा हाल्या हरियो शिखर चुरोट तान्दै बित्थ्यो । हामि भन्दा दश गुणा रमाइलो थ्यो खन्ते । दिनमा त टेम्पो चढेर कहिले लमही कैले भालुबांग । लमही बजार घुम्दै गर्दा एक दिन साह्रो अचम्म लाग्यो । सरम पनि लाग्यो । जे होस् हामि चित खाइम । यौटा दुकान पुरै कण्डमले सिंगारेर राखेको । त्यसैको माला बनाको छ त्यसैको तोरण बनाको छ । भित्तामा त्यै छ । शो-केसमा त्यै छ । हाम्लाई त लाग्यो संसार भरिका कण्डम त्यै दोकानमा राख्या छ । कसले किन्दो हो तेत्रा बिधी कण्डम !! कोइ ग्राहक आउँदा हुन् कि ?! हाम्लाई त परै बाट हेर्दा त सरमा' मर्नु छ, अझ दोकानै भित्र पसेर कण्डम किन्दा त पसिना छुट्छन् होला ! झन्डै आधा घण्टा बिताइम त्यै दोकान हेर्दै परै बाट । तर कोइ चरो मुसो छिरेन त्यो दोकानमा । 'अँ ! रहर मेटिचस तैंले नि !!' भन्दै हिंडीम त्याँ बाट । आधा उधि देउखुरी त हिंडेरै चाहार्थिम ।
म काठमाण्डु तिर लागेसी धेरै समय हाम्रो सम्पर्क टुट्यो । उसले सोंच्दो रहेछ : अब यसको र मेरो बाटो फरक भयो, पढा-लेखा मान्छे र म गाउँमा बस्नेको कुरो मिल्नु सम्भब पनि भएन । म घर गएको बेलामा पहिले उसलाई भेट्न जान्थें । त्यतिबेला उसको मिल थियो गाउँमा । हरेक समय मिलमै रहन्थ्यो । म मिलमा जान्थें । त्यति खुलेर कुरा गर्ने थे'न । पछि हाम्रो घर गाउँ देखि तल बेसीमा थियो । कैले काहिँ घर गएको बेलामा घरमै बस्नु पर्थ्यो । त्यसैले दिउसो उसलाई भेट्न गएपनि साँझ घर फर्कनै पर्थ्यो । उसलाई न्यास्रो लाग्थ्यो होला । त्यसैले भन्थ्यो अब तँ ठुलो मान्छे भइस । हामि गाम्ले अनपढ सँग कुरो मिल्दैन । 
खर्क दसैंँको मेलामा हल्का 'नास्ता' गर्दै तिर्थे 
ऊ पढाइमा म भन्दा अलि पछाडी थियो । पछी त दशको टेस्ट परिक्षामा पिछावाडामा तिनोटा पिला निस्केर परिक्षा दिनै सकेन । अर्को बर्ष खै के भयो फेल पो भयो । अन्तमा उसले एसएलसी पनि दिएन । त्यसैले उसलाई पछी पछी म सँग अलि अफ्ठ्यारो लाग्यो जस्तो लाग्यो । मलाइ तँ त काठमाण्डुमा बसेर पढ्ने मान्छे भन्दै चित्त दुखाउँथ्यो । मलाइ सार्है घोंच्थ्यो त्यो शब्द । त्यसको लागि म गाउँ फर्किन सक्दिनथें । दशैँ तिहारमा अलि लामो समय बस्न पाइन्थ्यो घरमा । त्यो बेलामा भने तिर्थे सँग पुराना कर्तुत गर्न नपाए पनि सम्झेर हाँस्न मजा आउंथ्यो ।
कैयौ पटक लाउर गयो । अरब नि गयो । बिहे गर्यो छोर्छोरीको बाउ नि भयो । अब तिर्थे अलिकति परिबर्तित छ । तर नि जो बच्चै देखिको बानिहरु छन् ति त कहाँ जान्छन र !! करिब दुइ बर्ष अघि भेट भयो । खासै चेन्ज थेन । ताल उही थ्यो । पिउने चाहिँ अलि बढेछ । मेला थ्यो गाउँमा । पिएछ मज्जाले !! मैले सम्झाएँ : किन दिउसै पिउँछस्!!! सबले जंड्याहा भनेर सम्बोधन गरेको सुन्ने रहर छ ? कति जनाले मार्किंग गरेका छन् तँलाई आज पिएर उफ्रेको (मेलामा 'सराएँ' नाचेको) भन्दा, उसले भन्यो : तँ ठुलो मान्छे, पढेको जान्ने सुन्ने इजेत भएको । म जंड्याहा । अनपढ गँवार गाउँमा बस्ने  । दिन भर म सँग रिसायो । एक दिनमै करिब दश पटक झगडा पर्यो होला । अन्तत बेलुका संगै बस्ने रमाइलो गर्ने योजना थ्यो । मैले नै उसलाई छलेर अन्तै गएँ । अर्को दिन महसुश भएछ । सरि यार !!! भन्दै थ्यो । तेरा सरि नपिउन्जेल मात्र हो भनें । कुरो सकियो ।
अफगानिस्तान जान्छु भनेर दलाललाइ पैसा फसाएछ काठमाण्डुमा । ओहोर दोहोर चलिरहेको रहेछ । दशैँ पछी लगत्तै काठमाण्डु जाँदै रहेछ । संगै जाउँ भने तर उसले मानेन । सधै यै बाटो काठमान्डू जाँदा बाटोमा भेट्ने मान्छेले अझै अफगानिस्तान गको छैनस ?भनेर हैरान पार्चन । म त अर्कै बाटो जान्छु भन्यो । ल त मर !! आखिर तेरो र मेरो बाटो बदलिईसकेको हो भने म के भनम त भने । अन्त मा काठमान्डू जानेबेलामा त हातमा फ्याङ्ले जाकेट च्यांपेर लुख्रुक्क मै चढ्या बसमा चढ्छ मोरो त !! मज्जा आयो । काठमान्डू आउन्जेल पुराना असमझदारीहरु दुर भए । फेरी पनि एक वाक्यमा भन्दा "टेस पर्यो" ।
भोटेबहालमा गेस्टहाउसको बास थियो । कैले म जान्थें संगै खाना खाएर घुम्न निस्किन्थ्यौं त कहिले मेरै कोठामा आउंथ्यो । त्यस्तै मा मेरो फेरी हिंड्ने बेला भयो । ऊ अझै भोटेबहालमै रह्यो । पछी पनि केहि समय त उसले फोन गर्यो  । मेरो फेरी कसैलाई फोन गर्ने चलन छैन । उसले मात्र कति गरोस ।
अन्तमा तीन लाख डुबाएर गाउँमै चुप लाएर बसिरको छ भन्ने खबर सम्म छ अहिलेको मिति सम्म ।
दसैंँको सराएँ मेला सक्केपछी बाजाको तालमा मस्त तिर्थे 

3 comments:

  1. टुइटरको बायोबाट लिङ्क भेट्टाएर आको, पढम पढम भो!! :) पढेपछि त सार्‍है टेस परो नि हजुर! :)

    ReplyDelete
  2. गजबको पात्र रहेछ तिर्थे

    ReplyDelete
  3. गजबको पात्र रहेछ तिर्थे

    ReplyDelete