7/22/12

तिर्थे "षष्टम अध्याय"

मैले एक दुइ चुस्की लाइसक्या थें पहिले नै| त्यसैले त्यसको स्वाद र व्यहोरा थाहा थ्यो| तर तिर्थे भने अनभिज्ञ थ्यो र अनभिज्ञ नै रहन चाहन्थ्यो| धत्! अरु सबै गर्नी तर रक्सि चाहिँ खानु हुन्न !! भन्थ्यो| न त हाम्रो समाजमा पच्छ न त त्यसले राम्रो नै गर्छ! त्यसैले सबै गरम तर त्यो चाहिँ नखाम भन्थ्यो| बरु गाँजाको स्वाद खुबै लिई सक्या थ्यो| कैले काहिँ पार्द्या दामे सँग लाएर द्वार्या बारीको कुनामा बसेर प्वांक प्वांक गाँजाको कस नाका'आ पोराबाट फालिन्थ्यो| अनि मैरो (तुलसीको मठ)बाट दुइ चार पत्ता चुँडेर चपाउँदै भित्र पसिन्थ्यो| 

7/19/12

तिर्थे :"पन्चम अध्याय"

गोजाँ खैनी खानि पैसो त हुन्थेन, बाँकी फुर्मासका के कुरा भयो र| तर नि मनका र दिमाखका गरिप थिएनम |तेसैले पैसा नभएनि जुक्ति ले काम् गर्थ्यो| एक दिन पकौडा खानि मन लाएर हुरुक्कै भयो| ग्वाल: गएको बेलामा तिर्थेले भन्यो~ साला भट्टराइका पकौडा पाउनी हो भने त पचासोटा दन्काइ दिन्थें! (भट्टराईको होटेल थ्यो, पकौडा, च्या, छोले, चिउरा,रक्सि बेच्थे)| मलाइ नि पकौडाको कुरो सुनेर घिटीक्क भयो| मुखभरी थुक आयो| भित्ताको माटो नै कोपरुँ जस्तो भयो| पकौडा खानि मन त लायो| लागे पछी लाग्यो लाग्यो! तर कसरि पो खानु! पैसाको पो गरिप थिईम हामि | आइडियाका त खुंखार! घनघोर छलफल चल्यो बगलेओडारका ढुँगामाथि| अनि निस्कर्ष पनि निस्क्यो| अब पकौडा खानि भैयो|

7/16/12

तिर्थे "चतुर्थ अध्याय"

पारि पारि मादल बज्या स्वर सुन्दा मनै च्यु च्यु हुन्त्यो| (हाम्रा तिर औंशी देखि भैलो खेल्नी चलन छैन| तिहारको टिका लगाएपछि भैलो शुरु गरेर चतुर्थी को दिन राति सम्म खेल्ने चलन छ| ) औंशी देखि बल्ल रोटि पकाउने तयारि हुन्त्यो| तर हाम्रा घरमा सधै अल्छी पारा हुन्थ्यो| जाबो रोटि जैले खाए नि त हुन्च नि! के त्यारै आउन पर्च र! भन्थे| तर सबैका घरमा त्यारमा रोटि पका'को बासना ड्वा(गहिरो परेको बाटो) सम्म आउँथ्यो| घाँटी किक्लिक्क हुन्थ्यो मुख रसाउँथ्यो| हाम्रा घराँ नि अलि चाँडैबाट सुरु गरेनी हुन्त्यो जस्तो लाग्थ्यो| त्याराँ खा'को जस्तो अरुबेला खा'को काँ'ट हुनु! यसपाली अझ ढिलो हुने भएको थ्यो| आमा मावल जाने रे| हाम्रा मामा थिएनन| आमाले टिका लगाइदिने कोइ थिएन| त्यसैले आमालाई त्याराँ माइत जाने रन्को हुन्थेन| यसपाली नि औंशी को दिनमा गएर अर्को दिन नै फर्किने गरि बा/आमा भेट्न  मावल जानुभयो| फर्केर आएपछी रोटि पकाउने गरि|

7/5/12

तिर्थे "तृतीय अध्याय"

हिउँदमा सारो (दुम्सी)ले हैरानै खेलाउँथ्यो| आलुको त सर्बनाशै हुन्थ्यो| सारो नि अचम्म कै हुन्थ्यो| जहिले ढुकेर बस्यो तहिले नआउने, जुन दिन आफु मस्त सँग सुत्यो त्यसको भोलिपल्ट आलुबारीमा खोपिल्टै खोपिल्टा मात्र हुन्थे, साराले खोर्सेको| कुन त गाउँमा पानीको अभाब! त्यसमा नि बल्ल बल्ल दुख गरि गरि पानी बोकी बोकी चारेर हुर्काको आलु साराको आहारा! रिस त यस्तो उठ्थ्यो कि साला!सारो समात्न पाए त काँडा नि नफाली चपाईदिन्थेँ! तर समात्न सक्ने हैन त्यो छट्टु सारोलाई | भन्न त जे भने नि भओ| हुनपनि एक्लो दोक्लो त बिरलै आउने नि| सधै जाहान परिबार सहित आउँथ्यो| कैले कहिँ फेला नि पर्थ्यो| तर रातिमा कता कता लखेट्नु ! छिस्रिक्क भाग्थ्यो| उसैले जित्थ्यो| हामि हिस्सै|