12/28/14

पहिलो मम:

सधैंको यौटै रुटिन । ब्यान उठ, आँखा मिच्दै धारामा जाउ, पालो बस, पानी ल्याउ चार पाँच खेप दनादन । चाकामा बाँसा' सुपिलो (खोइलो) लगाउ, चुइने गाग्री पछाडि धारा लाउँदै । चप्पल भिजेर माटो मिसिएर चिप्लेर उस्तै आपत । घर आइपुग्दा पानी गाग्रीको घाँटीबाट तल लागिसकेको हुन्थ्यो । छोत्ल्याङ्-छोत्ल्याङ् गरेर गर्धन तिर नि चुत्रुक्कै । कैले च्या खान पाइन्त्यो, बासी भात बँच्या भए त्यै च्याको सितन, कैले मकैका रोटा । टाप्टुप पार्यो घाँस-दाउरा हिँड्यो । फर्केर आयो, चिसो भैसकेको आटो दन्कायो फेरी गोरु फुकायो चल्यो ग्वाल । खेत-बारीको काम भए घाँस दाउराको रुटिन क्यान्सिल, ब्यानी धन्धा सक्यो आटो खायो चल्यो खेत-बारीमा । दिक्कै लाग्दो । सधैं उस्तै ।