साउन, बडो रसिलो महिना । चैत देखी खासै हरियो परियो देख्न नपाको गाउँको भान्साले हरियो देख्ने महिना । गर्मी भरी रुक्खेको ज्यानले धित मरुन्जेल भिजेर शरीरका धाँजाहरु
पुर्ने महिना । हुन त असार लागे देखी नै बर्षात सँगै फर्सिका मुन्टाले हरियो तिहुनको सुरुवात गर्छन् । तै पनि साउन नलागी घिरौँला, चिचिन्डा लगाएतका बर्खे तिहुनको सुरुवात हुन्न । मकैले धान-जुँगा गर्दै गर्दा आँगनको छेउँमा झिक्रामा लहरिएका घिरौँला, चिचिन्डा र करेलाले बतिला लाउन शुरु गरे देखी नै उत्साह आउन थाल्छ। शुरु शुरुमा मकैले धान फाल्दा, घिरौँला, काँक्राले फूल र बतिला हाल्दा त यस्तो लाग्छ कि जीवनमै पहिलो पटक काँक्रा घिरौँला रोपेको र पहिलो पटक नै यस्तो देख्दै छुँ । बडो आनन्द लाग्छ । घिरौँला-काँक्राले बतिला लाए देखी दिनगन्ती शुरु हुन्च कैले बढ्ला भनेर । बिहान जुरुक्क उठ्यो, आँखाका चिप्रा मिच्दै पहिले बाहिर निस्केर आँगनका डिलमा गएर त्यो बतिलो दर्शन गरेपछी बल्ल मुख धोयो । त्यती बिधी मायाँ त भर्खर जन्मेका बाख्राका पाठा-पाठीको नि लाग्थेन ।