6/23/13

तिर्थे 'साङ्गेता'


हुन त तिर्थे बलिउडमा हुन्थ्यो भने 'सलमान खान' हुन्थ्यो होला । अरुको मात्र हैन आफ्नै नि सुन्दैन उसले । पहिले पहिलेका त कुरा छोडौं अझै नि उस्तै छ ब्योरा । उसलाई यो कुरो 'हैन' जस्तो लाग्यो भने प्रमाण अँगाडी राख्दे नि पत्याउन्न । तर पनि मिल्नेहरु सँग भने असाध्यै मिल्थ्यो । यति हुँदा हुँदै नि मान्छे बडो लजालु टाइपको थ्यो । बेला बेला खिसिक्क लजाउँथ्यो ।

6/14/13

तिर्थे "दशम अध्याय"


सानो छँदा जे जती उल्फट्याङ् कार्य गरियो-गरियो। उमेर चढ्दै गएसी उल्फट्याङ कार्यमा जाँगर मर्दै गयो। बाध्यता परिस्थिती र कर्तब्यबोधले थिँच्दै पनि गयो। तिर्थे लाउर गयो । लाउर बाट आएपछी महेन्द्रनगरमा होटेल खोले तेस्का मामा-भाज्ना मिलेर । उस्को र मेरो भेट त के सम्झना नि नहुने गरी टाढा भैयो । उ आफ्नै काममा बिजी हुन थाल्यो म आफ्नै । 

5/4/13

तिर्थे : "नवम अध्याय''


दुबै जना उस्तै ठिस् । तर आफु ठिस् (हठी) भएको दुबैले नस्विकार्ने । शायद एक जना मात्र ठिस् भको भए जोडी जम्ने थे'न। उस्को कुरा मानिन भने ऊ सन्केर हिँड्दिने । मेरो कुरा उस्ले मानेन भने म फन्केर हिँड्दिने । त्यसैले पनि हामी अन्जान बन्थ्यौँ आफ्नो ठिसता प्रती । एक जनाले यस्तो गरम भनेपछी हल्का छलफल गर्‍यो अनी ओक्के ! गाउँमा हाम्लाई तासमा प्राय मिसाउने थेनन । हाम्रो पारा भनेको हाम्लाई टेस परुन्जेल खेल्ने, टेस पर्न छोडेसी खालमा गुन्द्रीमुनी च्याँप्या 'बुटो' टिप्नी तास च्यात्चुत पार्दिनी भड्याङ् भुडुङ् पार्दिनी हिँड्नी । बाइर निस्केर समाउथे, आफुले जितुन्जेल खेल्ने, हार्न थालेसि के ताल हो यो भन्दै ! तास भनेको रमाइलोको लागि खेल्ने हो रमाइलो लागुन्जेल खेलियो, त्यस्पछी रमाइलो लाग्न छोड्यो, अनी च्यातचुत पार्ने भड्याङ् भुडुङ् पार्ने गर्दा रमाइलो हुन्छ जस्तो लाग्यो त्यही गरियो। कसैको पैसो खाको छ भने भन !! बाँकी रह्यो तासमा हार्या पैसो ! जा घर गएर पहाडी कागज ले'र आ तमासुक गर्दिम्ला । नभए पुलिसमा गएर उजुरी गर तासमा जित्या पैसा दे'न भनेर ,भनी थर्काएसी मुर्खका अगाडि को बोल्नु र ! त्यसो गर्नु नि हाम्रो बाध्यता थियो। तिर्थे र म पैसाका गरिप थीईम । बल्ल बल्ल कुन दाउले काँ काँ बाट जुटाको पैसो नि तासमा हारिन्च अनी क्यार्नु त ! फेरी हाम्रो भाग्य नै त्यस्तै थ्यो। सुरुमा गुहे दाउ आउँथ्यो । ल्वात ल्वात जित्ने। खेल्दै गएसी भुटी भाङ्।