2/8/10

~ पङ्क्स ~

गाडीको अनुहार हेर्न १० किलोमिटर टाढाको सदरमुकाम पुग्नु पर्थ्यो, त्यो पनि बेलारुस ट्र्याक्टर! बस,ट्रक... अरु त अझ टाढा। १० कक्षा पढ्न १ घण्टा हिँड्नु पर्थ्यो, जुन अझै उस्तै छ। जेनतेन यस.यल.सी. पास गरेपछी बल्ल सुरु हुन्थ्यो मुस्किल। घर नछोडी सुखै थियन। शहर किताबमा मात्र हुन्थ्यो। कि त दिल्ली-पन्जाब मा!
औंलामा गन्न सकिने मान्छे मात्र थिए यस.यल.सी.पास गरेका। त्यस मध्य पनि धेरै जसो त मास्टर नै। तर चेतना धेरै थियो अहिलेको भन्दा। जती थियो सुल्टो थियो नकी अहिलेको जस्तो उल्टो! त्यसैले आफु भन्दा ठुलाको कुरा सुनिन्थ्यो। भनेको मानिन्थ्यो। सामाजिक संस्कारमा कहीँ कतै सामन्ती प्रथा भएपनि नयाँ पुस्तामा खासै लागु थिएन। तर पनि छुवाछुतको मामलामा अली पछाडि नै थियो। अली बढीनै बारीन्थ्यो। धेरै शिक्षित नभएपनि साक्षर समाज थियो।
प्राय नाकको टोप्रोमुनी सिगानका दुईओटा लुर्का गहनाको रुपमा सजिन्थे। कमिजको बाहुलाको नाडिनेरको भाग सबै भन्दा पैले कालो हुँदै कट्कटिएर आउँथ्यो। बिचरालाई कम्ती सास्ती हुन्थ्यो र! दिनभर नाकमुनिका लुर्काको देखभाल गर्ने उही त थियो! अनी अर्को समस्या जाँगेको पछाडिको भाग हुन्थ्यो। बर्षमा आधा जसो त नाङ्गो चाकले भुइँ टेकेकै हुन्थ्यो।